काठमाडौं — प्रमुख प्रतिपक्षी दलनेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सम्पन्न भएको छ। बैठकले लोकतन्त्र, संसद् सञ्चालन, विद्यार्थी राजनीति तथा सुकुम्बासी व्यवस्थापनलगायत समसामयिक विषयमा ६ बुँदे निर्णय सार्वजनिक गरेको छ।

ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकगगन कुमार थापाको सभापतित्वमा सम्पन्न भएको हो। बैठकपछि पार्टीका प्रवक्तादेवराज चालिसेले सरकारका पछिल्ला गतिविधिप्रति पार्टीले गम्भीर चासो र आपत्ति जनाएको जानकारी दिए।

ad

संसद् स्थगनप्रति कडा असन्तुष्टि

कांग्रेसले हालै आह्वान गरिएको संसद् बैठक बिना छलफल स्थगित गरिएको घटनाप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ। सरकारको सिफारिसमा अधिवेशन बोलाएर बैठक नै सञ्चालन नगरी स्थगित गर्नु संसदीय अभ्यास र संवैधानिक मर्यादाविपरीत भएको कांग्रेसको ठहर छ। पार्टीले संसद् तत्काल सुचारु गर्न माग गरेको छ।

संसदीय दल विधान संशोधन

बैठकले संसदीय दलको विधान संशोधन गर्दै समन्वय समितिको संयोजकमा उपसभापतिविश्वप्रकाश शर्मारहने व्यवस्था गर्ने निर्णय गरेको छ।

विद्यार्थी राजनीति सम्बन्धी धारणा

कांग्रेसलेबालेन्द्र शाहनेतृत्वको सरकारद्वारा विद्यार्थी संगठन हटाउने प्रयासको विरोध गरेको छ। विद्यार्थी संगठनको वैधानिक अस्तित्वलाई स्वीकार गर्दै स्वतन्त्र विद्यार्थी युनियन (एफएसयू) निर्वाचनमा सुधार, पारदर्शिता र स्पष्ट आचारसंहिता आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ।

सुकुम्बासी समस्या समाधानमा जोड

पार्टीले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक सुकुम्बासीको पहिचान गरी आवास तथा जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ। साथै, समस्या समाधानका क्रममा बल प्रयोगभन्दा मानवीय उपाय अपनाउन सरकारलाई आग्रह गरिएको छ।

हिरासत मृत्यु प्रकरणमा छानबिन माग

सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक युवकको मृत्यु भएको घटनामा कांग्रेसले निष्पक्ष छानबिनको माग गरेको छ। घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न सरकारलाई दबाब दिएको छ।

विदेशमा रहेका नेपालीको सुरक्षाबारे चासो

बैठकले इरानमा रहेका नेपाली नागरिकको रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ। साथै समग्र शासन प्रणालीमा पारदर्शिता, जवाफदेहिता र मानवीय दृष्टिकोण अपनाउन सरकारलाई पुनः स्मरण गराइएको छ।