
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नदी तथा खोला किनारमा बसोबास गर्दै आएका जोखिमग्रस्त बस्तीहरूको सुरक्षित स्थानान्तरणका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौँदेखि दोहोरिँदै आएको बाढीको समस्याले हजारौँ नागरिक प्रतिवर्ष विस्थापित हुन बाध्य भएको उल्लेख गरेका छन्।
उनका अनुसार काठमाडौँ उपत्यकामा हरेक वर्ष आउने बाढीका कारण नदीकिनारका बासिन्दाले ज्यान जोगाउन मात्र सफल भई आफ्नो सम्पत्ति छोड्नुपर्ने अवस्था रहेको छ। यसलाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले अब ढिलाइ नगरी सुरक्षित बसोबासको व्यवस्था मिलाउने दिशामा काम अघि बढाएको उनले स्पष्ट पारे।
प्रधानमन्त्री शाहले जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई बल प्रयोग नगरी मानवीय ढङ्गले स्थानान्तरण गरिने बताएका छन्। थापाथली, गैरीगाउँ, मनोहरा क्षेत्रलगायतका बस्तीहरू उच्च जोखिममा रहेकाले ती स्थानबाट व्यवस्थित रूपमा सार्ने योजना बनाइएको जानकारी उनले दिएका छन्।
यसका साथै, नदीकिनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणालीमा अवरोध पुगेको र उपत्यकाका नदीहरू प्रदूषित हुँदै गएको विषयमा पनि उनले चिन्ता व्यक्त गरेका छन्। बस्ती स्थानान्तरणपछि ढल व्यवस्थापन सुधार हुने र वातावरणीय अवस्था समेत सकारात्मक हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीले सरकारको प्राथमिकतामा सुकुम्बासी समस्या समाधान रहेको उल्लेख गर्दै वास्तविक सुकुम्बासी र अतिक्रमणकारीबीच स्पष्ट छुट्याइने बताएका छन्। देशभर रहेका वास्तविक सुकुम्बासीलाई आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र जग्गा उपलब्ध गराउने सरकारको योजना रहेको उनले बताएका छन्।
उनले विगतमा गरिएका प्रतिबद्धता तथा सरकारका ‘१०० दिनभित्र गर्नुपर्ने काम’ अन्तर्गतका योजनाहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याउँदै वर्षौँदेखिको यो समस्याको स्थायी समाधान निकाल्ने दाबी गरेका छन्।










Facebook Comments