काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। आन्तरिक सहमतिको प्रयास असफल भएपछि पार्टी अन्ततः प्रतिस्पर्धामार्फत नेतृत्व छान्ने तयारीमा पुगेको हो।

निर्वाचन समितिले तय गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता र मतदान दुवै प्रक्रिया आजै सम्पन्न हुनेछन्। बिहान उम्मेदवारी दर्ता र अपराह्न मतदानको समय निर्धारण गरिएको छ। यसअघि नै मतदाताको नामावली सार्वजनिक गरिसकिएको छ।

ad

प्रतिनिधिसभामा कांग्रेसका कुल ३८ सांसद छन्, जसमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना छन्। संसदीय दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले यो पदलाई निकै महत्वका साथ हेरिएको छ।

नेतृत्वका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य मैदानमा छन्। तीनै जनाले आ–आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास तीव्र बनाएका छन्।

पार्टीभित्र पछिल्लो समय दुई धार स्पष्ट देखिएका छन्—संस्थापन पक्ष र इतर समूह। आङ्देम्बेलाई संस्थापन पक्षका प्रभावशाली नेताहरूको साथ रहेको छ भने केसी र आचार्य पनि आ–आफ्नो गुटीय समर्थनमा उभिएका छन्। केसीले आफू नभए आचार्यलाई समर्थन गर्ने संकेत दिएपछि समीकरण थप जटिल बनेको छ।

पार्टी नेतृत्व तहमा सहमति खोज्ने प्रयास अन्तिम समयसम्म जारी रहे पनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएको नेताहरू बताउँछन्। निर्वाचन समितिका पदाधिकारीहरूका अनुसार प्रक्रिया र सहमतिको प्रयास सँगसँगै अघि बढाइए पनि दाबी फिर्ता लिने सम्भावना न्यून देखिएको छ।

पार्टीको आन्तरिक शक्ति सन्तुलनका हिसाबले देउवा र कोइराला समूहबीचको समीकरण निर्णायक बन्न सक्ने देखिन्छ। दुवै समूह एक ठाउँमा उभिए सहज बहुमत सम्भव भए पनि हालसम्म स्पष्ट सहमति देखिएको छैन।

यसअघि पनि कांग्रेसले संसदीय दलको नेता निर्वाचनमार्फत चयन गर्दै आएको छ। वर्तमान परिस्थितिमा पनि सहमति टुटेपछि मतदानबाटै नयाँ नेता चयन हुने लगभग निश्चित देखिएको छ।