
काठमाडाैं । सरकारले छोटो अवधिमै राष्ट्रपतिसमक्ष दुई फरक सिफारिस पेश गर्दै संघीय संसद्को अधिवेशनबारे निर्णय परिवर्तन गरेको छ। सुरुमा अधिवेशन आह्वानको प्रस्ताव गरेको सरकारले दुई दिन नबित्दै सोही अधिवेशन स्थगन गर्न अनुरोध गरेको हो।
वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते दिउँसो २ बजेका लागि बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सो निर्णयका आधारमा राष्ट्रपतिले अधिवेशन आह्वानसम्बन्धी प्रक्रिया अघि बढाएका थिए।
तर, त्यसको केही समयपछि सरकार आफ्नो अघिल्लो निर्णयबाट पछि हट्दै फेरि नयाँ सिफारिससहित राष्ट्रपतिसमक्ष पुगेको हो। वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि तोकिएको मितिको अधिवेशन स्थगित गर्न सिफारिस गरेको थियो।
सरकारको नयाँ सिफारिसपछि राष्ट्रपतिबाट पनि सोही अनुसार अधिवेशन स्थगनको निर्णय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार विशेष कारण देखाउँदै तय भइसकेको अधिवेशन हाललाई रोकिएको हो।
यस घटनाले सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाउने सम्भावना बढेको छ भने अधिवेशन स्थगनको कारणबारे स्पष्ट जानकारी नआएकाले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।











Facebook Comments