काठमाडौँ । महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यता विवादमा परेको छ। उनको नियुक्ति संविधानअनुसार नठहरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

बुधबार आठ जना अधिवक्ताले सर्वोच्च अदालत मा रिट दर्ता गराएका छन्, जसको सुनुवाइ बिहीबारका लागि तोकिएको छ। निवेदकहरूले कँडेलको नियुक्ति संवैधानिक मापदण्ड पूरा नगरेको दाबी गरेका छन्।

ad

रिटमा संविधानको धारा १५७ (३) र १२९ (५) अनुसार आवश्यक योग्यता नपुगेको उल्लेख गरिएको छ। साथै, राष्ट्रपति द्वारा चैत २२ मा गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट भएको शपथसमेत बदर गर्न माग गरिएको छ।

मुद्दाको अन्तिम टुंगो नलागेसम्म कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग पनि रिटमा समावेश छ।

यसअघि पनि कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै रिट दर्ता गर्ने प्रयास भएको थियो, तर त्यो दरपीठ भएको थियो।

संविधानअनुसार महान्यायाधिवक्ता बन्न सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य हुनुपर्छ। त्यसका लागि कम्तीमा १५ वर्ष कानुन व्यवसायमा सक्रिय अनुभव वा न्याय तथा कानुन क्षेत्रमा उल्लेखनीय योगदान आवश्यक हुन्छ।

निवेदकहरूले कँडेलले आवश्यक १५ वर्ष निरन्तर वकालत नगरेको दाबी गर्दै उनको नियुक्ति असंवैधानिक भएको जिकिर गरेका छन्।