कावासोती । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली ले केवल नेतृत्व परिवर्तनले मात्रै पार्टीभित्रका समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्र गहिरो आत्मसमीक्षा आवश्यक रहेको धारणा राखे।

उनले स्पष्ट शब्दमा भने, 'एउटाको ठाउँमा अर्को व्यक्ति राख्दैमा समस्या समाधान हुँदैन, संगठनभित्र गम्भीर समीक्षा हुनुपर्छ।' उनका अनुसार अहिलेको मुख्य आवश्यकता नेतृत्व फेर्ने बहसभन्दा पनि पार्टीको अवस्था र दिशा मूल्याङ्कन गर्नु हो।

ad

ज्ञवालीले केपी शर्मा ओली को नेतृत्व तत्काल परिवर्तन हुने सम्भावना नरहेको संकेत गरे। अध्यक्ष ओली क्रमशः सक्रिय बन्दै गएको उल्लेख गर्दै उनले समीक्षा प्रक्रियाबाट आउने निष्कर्षका आधारमा मात्रै आगामी कदम तय गरिने बताए।

नेतृत्व परिवर्तनको माग बढिरहेको विषयमा प्रतिक्रिया दिँदै उनले त्यसलाई अहिलेको प्राथमिकता नरहेको बताए। त्यस्तै, विद्यादेवी भण्डारी को नेतृत्वमा पार्टी अघि बढ्न सक्ने चर्चाबारे भने उनले टिप्पणी गर्न चाहेनन्।

वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा ज्ञवालीले हाल कुनै ठोस पहल नभएको स्पष्ट पारे। 'अन्य कम्युनिष्ट दलसँग एकता गर्ने विषय अहिले छलफलमै छैन, बाहिर आएको प्रचार वास्तविक होइन,' उनले भने। उनका अनुसार एमाले अहिले आफ्नो संगठन सुदृढीकरणमै केन्द्रित छ।

सरकारको कार्यशैलीप्रति पनि उनले असन्तुष्टि जनाए। सुरुदेखि नै सरकार स्पष्ट दिशाविहीन बनेको आरोप लगाउँदै उनले राजनीतिक पूर्वाग्रहले काम अघि बढाइएको बताए। 'सरकारले सुरुदेखि लय समात्न सकेन, बरु प्रतिशोधको भाव देखियो, जुन सकारात्मक संकेत होइन,' उनले टिप्पणी गरे।