काठमाडौँ । गृहमन्त्री बनेको झन्डै एक महिना नपुग्दैसुधन गुरुङले पद त्यागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अब नयाँ गृहमन्त्री को बन्ने भन्ने विषयमा तीव्र चर्चा सुरु भएको छ।

विवादास्पद व्यवसायीदीपक भट्टसँगको सेयर लगानीसम्बन्धी प्रश्नहरू उठेपछि गुरुङले सार्वजनिक रूपमा नैतिक जिम्मेवारी लिँदै बुधबार राजीनामा दिएका थिए। उनीबालेन्द्र शाहनेतृत्वको मन्त्रिमण्डलमा चैत १३ मा गृहमन्त्री नियुक्त भएका थिए।

ad

पार्टी स्रोतहरूका अनुसार अबको गृहमन्त्रीका लागि महामन्त्रीकवीन्द्र बुर्लाकोटीको सम्भावना बलियो देखिएको छ। पार्टी सभापतिरवि लामिछानेनिकट मानिने बुर्लाकोटी संस्थापक नेतामध्ये एक हुन् र हालै मात्र संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी सम्हालेका छन्।

यद्यपि प्रतिस्पर्धा त्यत्तिमै सीमित छैन। गृहमन्त्री सचिवालयका सदस्यदीपक बोहरार पार्टी प्रवक्तामनिष झाले पनि उक्त पदका लागि दाबी प्रस्तुत गरेको बताइन्छ। स्रोतका अनुसार सहमति जुटेमा बुर्लाकोटी अघि बढ्न सक्छन्, तर सहमति नभए अन्य विकल्प पनि खुला राखिएको छ।

बुर्लाकोटी गोरखा–२ बाट निर्वाचित सांसद हुन्। धादिङमा जन्मिएका उनी शैक्षिक रूपमा वित्त विषयमा स्नातकोत्तर हुन् र अस्ट्रेलियाकोUniversity of New South Walesमा मानवअधिकार तथा व्यवसायसम्बन्धी अध्ययन गरेका छन्। पार्टीभित्र उनी संयमित र सन्तुलित नेताका रूपमा चिनिन्छन्।

उता, कञ्चनपुर–२ बाट निर्वाचित बोहरा पनि सभापति लामिछानेका विश्वासपात्र मानिन्छन्। उनी पहिले गृहमन्त्रीको स्वकीय सचिवका रूपमा काम गरिसकेकाले प्रशासनिक अनुभवका आधारमा दाबेदार बनेका छन्। त्यस्तै, पत्रकारिताबाट राजनीतिमा आएका झा धनुषा–३ बाट निर्वाचित सांसद हुन् र पार्टीभित्र प्रभावशाली आवाजका रूपमा स्थापित छन्।

हालसम्म तीन जनाको दाबी स्पष्ट देखिए पनि अन्तिम निर्णय भने टुंगिएको छैन। आन्तरिक सहमति नभए नयाँ अनुहार पनि अघि सारिन सक्ने संकेत स्रोतहरूले दिएका छन्।

गुरुङमाथि लागेको आरोपका कारण उनीमाथि पार्टीभित्रैबाट दबाब बढिरहेको थियो। अनुशासन आयोगले समेत विषयमा छानबिन अघि बढाइरहेको बताइएको छ। राजीनामाअघि उनले प्रधानमन्त्री शाह र सभापति लामिछानेसँग पटक–पटक छलफल गरेका थिए। अन्ततः बुधबार बिहान प्रधानमन्त्रीसँगको भेटपछि उनले पदबाट बाहिरिने निर्णय सार्वजनिक गरेका हुन्।

रास्वपाले औपचारिक कारबाहीभन्दा पनि नैतिक आधारमा राजीनामा आउनु उपयुक्त हुने निष्कर्ष निकालेको बताइएको छ।