अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई केही समयका लागि लम्ब्याउने निर्णय गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरको विशेष आग्रहमा इरानलाई एकमत प्रस्ताव पेश गर्ने अवसर दिनका लागि हमला रोकिएको ट्रम्पले स्पष्ट गरेका हुन् । यद्यपि, यो युद्धविरामका बावजुद अमेरिकी सेनाले इरानी बन्दरगाहहरूको घेराबन्दी र नाकाबन्दीलाई भने निरन्तरता दिने भएको छ । ट्रम्पले आफ्ना सैन्य कमाण्डरहरूलाई कुनै पनि समय युद्धका लागि पूर्ण रूपमा तयार रहन निर्देशन पनि दिएका छन् । यसैगरी अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र वार्ता टोलीको प्रस्तावित पाकिस्तान भ्रमण पनि तत्कालका लागि रद्द गरिएको छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले इरानमा मुद्धा खेपिरहेका आठ महिला र किशोरीहरूको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनीहरूलाई रिहा गर्न अपील गरेका छन् । उनले ती महिलाहरूलाई कुनै हानि नपुऱ्याउन आग्रह गर्दै यसलाई दुई देशबीचको वार्ताको सकारात्मक सुरुवातको रूपमा हेर्न सकिने बताए । मानवाधिकारवादी संगठनहरूका अनुसार तीमध्ये केही महिलाहरूलाई सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरी मृत्युदण्डको सजाय समेत सुनाइएको छ ।

ad

यद्यपि, इरानको सरकारी सञ्चारमाध्यमले भने मृत्युदण्डको दाबीलाई खारेज गर्दै केही महिला रिहा भइसकेको र बाँकीलाई अदालतको फैसला अनुसार जेल सजाय हुन सक्ने दाबी गरेको छ ।

अर्कोतर्फ, पश्चिम एसियामा तनाव अझै कम हुन सकेको छैन । इरान समर्थित उग्रवादी संगठन हिजबुल्लाहले इजरायली सेनामाथि २०० भन्दा बढी पटक युद्धविराम उल्लंघन गरेको गम्भीर आरोप लगाएको छ । इजरायलले दक्षिण लेबनानमा 'बफर जोन' निर्माण गर्न खोजिरहेकोमा हिजबुल्लाहले कडा विरोध जनाइरहेको छ । युद्ध सुरु भएदेखि हालसम्म इरान र लेबनानमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्, जसमा १३ अमेरिकी सैनिक र १५ इजरायली सैनिक समेत सामेल छन् ।