काठमाडौं । विद्यार्थी संघसंगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी तयारीप्रति प्रमुख प्रतिपक्षी दलका नेताहरूले आपत्ति जनाउन थालेका छन्। नेता पूर्णबहादुर खड्काले सरकारको उक्त कदमलाई अधिनायकवादी प्रवृत्तिको संकेत भन्दै आलोचना गरेका छन्।

बुधबार जारी विज्ञप्तिमा उनले लोकतान्त्रिक अभ्यासबाटै वर्तमान नेतृत्व स्थापित भएको उल्लेख गर्दै त्यही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण भएको बताएका छन्। “विद्यार्थी संगठन लोकतन्त्रको नर्सरी हुन्, तिनको अस्तित्वमाथि प्रहार गर्नु स्वीकार्य हुन सक्दैन,” उनको भनाइ छ।

ad

नेपाली कांग्रेस का नेता खड्काले सुधारको नाममा ऐतिहासिक भूमिका निर्वाह गरेका संरचनालाई कमजोर बनाउने प्रयास नगर्न सरकारलाई आग्रह गरेका छन्। उनले यस्ता निर्णयले लोकतान्त्रिक आधार नै कमजोर हुने चेतावनी दिए।

खड्काले विद्यार्थी शक्ति पुनः सडकमा उत्रन बाध्य हुने अवस्था सिर्जना भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताएका छन्।

सरकारले भने शासकीय सुधारको नाममा विद्यालय तथा विश्वविद्यालय परिसरमा दलनिकट विद्यार्थी संगठन निषेध गर्ने र स्ववियुको सट्टा वैकल्पिक संरचना रूपमा ‘विद्यार्थी काउन्सिल’ गठन गर्ने तयारी गरिरहेको छ। यस विषयमा राजनीतिक तथा शैक्षिक वृत्तमा बहस तीव्र बन्दै गएको छ।