
जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित हुन थालेको छ। आजको मापनअनुसार वीरगञ्जमा तापक्रम ३९ डिग्री सेल्सियस पुगेको छ भने जनकपुरधाममा करिब ३८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
जल तथा मौसम विज्ञान विभागजनकपुर कार्यालयका प्रमुख राजीव झाले चर्को घामसँगै तातो हावा (लु) चलेपछि सर्वसाधारणको दैनिकी कष्टकर बनेको जानकारी दिए। उनका अनुसार विशेषगरी बालबालिका, वृद्धवृद्धा, दैनिक ज्यालादारी मजदुर तथा साना व्यवसायीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
गर्मीका कारण श्रमिक वर्गको कामकाजमा प्रत्यक्ष असर परेको छ। दिनभर बाहिर काम गर्न कठिन भएको र ग्राहकको आवागमन घट्दा सडक किनारमा व्यापार गर्ने साना व्यवसायीहरूको आम्दानीसमेत घटेको छ। ठेला तथा साना पसल सञ्चालन गर्नेहरू दिउँसोको समयमा घाम सहन नसक्ने अवस्थामा पुगेका छन्।
विभागका अनुसार तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने क्रम जारी रहने सम्भावना रहेको छ। यसले गर्मीको प्रभाव थप बढाउने अनुमान गरिएको छ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन्। पर्याप्त पानी पिउने, झोलिलो खानेकुरा सेवन गर्ने, दिउँसोको समयमा सकेसम्म घरबाहिर ननिस्कने र हल्का कपडा लगाउने सुझाव दिइएको छ। साथै बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्न पनि आग्रह गरिएको छ।










Facebook Comments