काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय (ईभी) सवारी साधनको भाडा वृद्धि नभएको स्पष्ट गर्दै नियमविपरीत बढी भाडा असुले कडा कारबाही गरिने चेतावनी दिएको छ।

विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै हालै गरिएको भाडा समायोजन केवल डिजेल इन्जिनबाट सञ्चालन हुने सार्वजनिक सवारीका लागि मात्र लागू भएको जानकारी गराएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि स्वचालित प्रणालीअनुसार गत चैत २५ गते भाडा समायोजन गरिएको भए पनि उक्त निर्णय ईभी सवारीमा लागू नहुने विभागले प्रष्ट पारेको छ।

ad

हालै केही विद्युतीय सवारीले पनि बढेको भाडा लिइरहेको र यात्रुलाई टिकट नदिएको गुनासो आएपछि विभागले औपचारिक धारणा सार्वजनिक गरेको जनाएको छ। विभागका अनुसार ईभी सवारीमा पुरानै भाडादर कायम छ र यात्रुले तिरेको भाडाको टिकट अनिवार्य रूपमा दिनुपर्ने प्रावधान लागू हुन्छ।

विभागले सेवा प्रदायकलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन पाइएमासवारी तथा यातायात व्यवस्था ऐन २०४९सवारी तथा यातायात व्यवस्था नियमावली २०५४अनुसार कारबाही गरिने जनाएको छ।

यात्रुहरूलाई पनि अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन विभागले आग्रह गरेको छ।