
काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङविरुद्ध कडा चेतावनी दिँदै २४ घण्टाभित्र राजीनामा नदिए सडक संघर्षमा उत्रिने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियानका नेताहरूले गृहमन्त्रीमाथि उठेका प्रश्न गम्भीर भएको दाबी गर्दै तत्काल पदबाट हट्नुपर्ने माग राखेका हुन्।
अभियानका संयोजक सुनिल सिंह ले गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै मार्ग प्रशस्त गर्नु उपयुक्त हुने बताए। उनले जेनजीको आन्दोलनबाट उदाएको राजनीतिक शक्तिले नै अहिले फरक मापदण्ड अपनाएको आरोप लगाए। उनका अनुसार अघिल्लो प्रकरणमा दिपककुमार साहलाई स्पष्टीकरणको अवसर नदिइएको अवस्थामा अहिले गृहमन्त्रीप्रति उदारता देखिनु समानताको सिद्धान्तविपरीत हो।
कार्यक्रममा सह–संयोजक अजय सोडारी ले पनि गृहमन्त्रीको राजीनामा अपरिहार्य भएको बताए। उनले विगतमा आर्थिक अभावको कुरा गर्नेहरू अचानक ठूलो सम्पत्तिका मालिकका रूपमा देखिनु शंकास्पद रहेको टिप्पणी गरे। साथै, ‘नेपो किड’ विरुद्ध आवाज उठाउने नेताहरू नै अहिले त्यही प्रवृत्तिको प्रतीक बनेको आरोप पनि उनले लगाए।
अभियानका सचिव प्रकाश बम ले वर्तमान सरकार आन्दोलनको बलमा बनेको स्मरण गराउँदै त्यही मूल्य र नैतिकतामा टिक्नुपर्ने बताए। उनले पूर्व गृहमन्त्री रवि लामिछाने ले आफूविरुद्ध प्रश्न उठेपछि राजीनामा दिएको उदाहरण प्रस्तुत गर्दै अहिले पनि त्यही अभ्यास आवश्यक भएको धारणा राखे।
कार्यक्रममा वक्ताहरूले गृहमन्त्रीमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले पदमा रहँदा अनुसन्धान प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै राजीनामाले प्रक्रिया सहज बनाउने तर्क अघि सारे।
जेनजी अभियानले तोकिएको समयसीमाभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ।










Facebook Comments