काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आफ्नो जिम्मेवारी पूरा गर्दै तयार पारेको प्रतिवेदन सभामुखसमक्ष बुझाएको छ। मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा समितिले सभामुख डोलप्रसाद अर्याललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको हो।

प्रतिवेदन बुझ्दै सभामुख अर्यालले समितिले तोकिएको समयमै काम सम्पन्न गरेकोप्रति सन्तोष व्यक्त गरे। उनले समयसीमाभित्र कार्य सम्पन्न गर्नु व्यक्तिगत तथा संस्थागत दुवै दृष्टिले महत्वपूर्ण हुने उल्लेख गर्दै यसले सकारात्मक सन्देश दिएको बताए।

ad

नियमावली तयार गर्ने क्रममा विज्ञ समूह, कर्मचारी, सञ्चारकर्मी तथा विभिन्न राजनीतिक दलका सांसदहरूसँग व्यापक छलफल गरिएकोमा उनले प्रशंसा गरे। बहुदलीय सहभागितामार्फत तयार पारिएको मस्यौदाले थप परिपक्वता पाएको उनको धारणा थियो।

सभामुख अर्यालले प्रतिवेदन बुझाइएको भए पनि प्रक्रिया अझै बाँकी रहेको स्पष्ट पारे। अब उक्त प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिने र आवश्यक परे संशोधनका लागि समय दिइने उनले जानकारी दिए। कुनै कमजोरी वा त्रुटि भए सुधार गर्ने अवसर अझै खुला रहेको उनको भनाइ थियो।

कार्यसम्पादनका क्रममा समितिका सदस्यहरूले निरन्तर खटेर जिम्मेवारी पूरा गरेकोमा सभामुखले आभार व्यक्त गर्दै उनीहरूको योगदानको सराहना गरे।