
काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न प्रशासनिक तथा नीतिगत निर्णयहरू गरेको छ। बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार आचार्य (प्युठान) लाई अध्यक्षमा नियुक्त गरिएको हो। समितिका सदस्यहरूमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई चयन गरिएको छ।
यसैगरी, बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।
मन्त्रिपरिषद्ले कानुनी सुधारतर्फ पनि कदम अघि बढाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
त्यस्तै, नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न तयार गरिएको विधेयक संसद्मा पेश गर्न पनि सरकार सहमत भएको छ।
सरकारका यी निर्णयहरू प्रशासनिक संरचना सुदृढ बनाउने र कानुनी व्यवस्था अद्यावधिक गर्ने उद्देश्यले गरिएको बताइएको छ।










Facebook Comments