काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई ३ दिने स्पष्टीकरण सोधेको छ।

अनुशासन समिति संयोजक तारामान गुरूङको अध्यक्षतामा सोमबार बसेको बैठकले  तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

ad


‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वकाविरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछ,’ सचिव दिनेश थापामगरले अनुशासन समिति बैठकपछि जारी गरेको निर्णयमा उल्लेख छ।

नेता कान्छारामको बाहिरिएको एक भिडिओमा उनले भनेका थिए– त्यही त गगनले जितोस् भन्नेमा छु के। किनभने शेरबहादुरले जित्यो भने गगनले पार्टी फुटाउँछ। फुट्नुभन्दा उसैले जितोस् न। उसँग टन्नै पैसा छ। एक अरब अस्ती खर्च गर्‍यो, २ अरब अझै छ।