
काठमाडौं । सरकारले खाडी तथा पश्चिम एसियाका १२ देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। इजरायल–अमेरिका र इरानबीचको तनावका कारण गत फागुन १७ गते स्थगन गरिएको श्रम स्वीकृति प्रक्रिया अब पुनः सुचारु गरिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायलमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार यी देशहरूमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणसम्बन्धी सबै प्रक्रिया पूर्ववत् रूपमा सञ्चालन गर्न अनुमति दिइएको छ। तर इराकको हकमा भने यसअघि २०८२ पुस ११ गते मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार नै प्रक्रिया अघि बढाइने स्पष्ट गरिएको छ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको उच्चस्तरीय आपत्कालीन प्रतिकार्य कार्यदल (ईआरटी) ले पनि श्रम गन्तव्य मुलुकहरूमा वैदेशिक रोजगारी पुनः खुला गर्न सिफारिस गरेको थियो। परराष्ट्र सचिवको संयोजकत्वमा बसेको बैठकले खाडी तथा पश्चिम एसियाली मुलुकहरूमा श्रम आवागमन सामान्य अवस्थामा फर्काउनुपर्ने निष्कर्ष निकालेको थियो।
सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गत फागुनमा श्रम स्वीकृति स्थगन गरिएको थियो। तर पछिल्लो मूल्यांकनपछि जोखिम कम भएको निष्कर्ष निकाल्दै पुनः खुला गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।










Facebook Comments