काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संगठनात्मक संरचना विस्तार गर्दै नेतृत्व तहमा नयाँ अनुहारहरू थपेको छ। सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्च र केन्द्रीय सल्लाहकार परिषद् दुवैमा सदस्य मनोनयन गर्ने निर्णय गरेको हो।

पार्टीले संघीय नेतृत्व मञ्चमा तुलसी प्रसाद चौधरी (सप्तरी), राम सिंह थारू (बर्दिया), जीवन धामी (मोरङ), प्रेमा चौधरी (कैलाली), नवराज राना (कञ्चनपुर) र एकराज चौधरी (दाङ) लाई समेटेको छ। यस्तै, केन्द्रीय सल्लाहकार परिषद्मा जीवन प्रभा लामा (काभ्रे), मोती प्रसाद पंगाली (नवलपरासी पूर्व), हरिप्रसाद पाण्डे (भक्तपुर) र बिष्णुहरी शर्मा (कपिलवस्तु) लाई जिम्मेवारी दिइएको छ।

ad

बैठकले संगठनात्मक तहमा केही महत्वपूर्ण फेरबदलसमेत गरेको छ। भुपदेव साहलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ भने सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्यमा प्रस्ताव गरी केन्द्रीय समितिबाट अनुमोदन गरिएको जनाइएको छ।

यससँगै, पार्टीले लेवीसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ। नयाँ निर्णयअनुसार सांसदले मासिक १५ हजार रुपैयाँ, मन्त्रीले १८ हजार रुपैयाँ र स्वकीय सचिवले २ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ।

पार्टीले यी निर्णयहरूबाट संगठनलाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।