काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो नौ महिनामा नेपालको व्यापार घाटा उल्लेख्य रूपमा बढेको देखिएको छ। साउनदेखि चैत्रसम्मको अवधिमा कुल वैदेशिक व्यापार १७ खर्ब नाघ्दा घाटा १२ खर्बभन्दा बढी पुगेको छ।

उपलब्ध तथ्यांकअनुसार उक्त अवधिमा नेपालले १७ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक कारोबार गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १४ प्रतिशतले बढी हो। तर आयात उच्च दरमा बढिरहँदा निर्यातले त्यसलाई सन्तुलन गर्न नसक्दा घाटा चुलिँदै गएको हो।

ad

यस अवधिमा करिब १४ खर्ब ९० अर्ब रुपैयाँ बराबरका वस्तु आयात भएका छन्, जुन गत वर्षको तुलनामा झण्डै १४ प्रतिशतले बढी हो। यता निर्यात पनि केही सुधार हुँदै २ खर्ब २२ अर्ब रुपैयाँ नाघेको छ, जसले अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशत वृद्धि देखाउँछ।

यद्यपि, आयात र निर्यातबीचको ठूलो अन्तरका कारण कुल व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा करिब ११ खर्ब २१ अर्ब रुपैयाँ थियो।

विश्लेषकहरूका अनुसार आयातमा निर्भर अर्थतन्त्र, सीमित उत्पादन क्षमता र निर्यातयोग्य वस्तुको अभावका कारण व्यापार घाटा निरन्तर बढिरहेको छ। निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन र औद्योगिक उत्पादन विस्तार नगरेसम्म यस्तो असन्तुलन घटाउन चुनौतीपूर्ण रहने देखिन्छ।