
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हारजितको अवस्था सिर्जना नगरी आगामी यात्राको स्पष्ट बाटो तय गरेको बताएका छन् । अदालतले सिर्जना गरेको अवस्थालाई अवसरका रूपमा लिँदै सबैलाई एउटै दिशामा अघि बढाउने उनले बताए।
बागमती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका सबै पक्षलाई एकजुट बनाएर अधिवेशनसम्म सँगै लैजाने प्रतिबद्धता व्यक्त गरे।
अहिले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिँदै उनले यस प्रक्रियामा कसैलाई विभेद गर्ने वा छनोट गर्ने सुविधा नभएको स्पष्ट पारे।
वडा सभापतिहरूलाई सदस्यता वितरण र नवीकरणको काम इमानदारीपूर्वक सम्पन्न गर्न उनले आग्रह गरे। सदस्यता माग गर्ने कसैलाई पनि बहाना नगरी उपलब्ध गराउन र छुटेका पुराना सदस्यलाई नवीकरणमा समेट्न उनले निर्देशन दिए।
पार्टीको सांगठनिक अवस्थाबारे चर्चा गर्दै उनले क्रियाशील सदस्य संख्या धेरै भए पनि १७ निर्वाचन क्षेत्रमा प्राप्त मत सो संख्याभन्दा कम वा बराबर रहेको स्मरण गराए।
विगतमा अन्य दललाई मतदान गरेका व्यक्तिहरू पनि अहिले पार्टीमा आउन चाहेको खण्डमा उनीहरूका लागि अनुकूल वातावरण तयार पार्न उनले कार्यकर्तालाई आग्रह गरे।
आगामी वर्ष हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै डिजिटल प्रविधिबाट भइरहेको सदस्यता नवीकरणले नै पार्टीको जितको आधार तय गर्ने उनले दाबी गरे। विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले आफ्नो दायित्व पूरा नगरे स्थानीय चुनाव जित्न कठिन हुने उनले बताए।
नागरिकसँग कसरी जोडिने भन्नेबारे संगठनले ठोस योजना बनाएको उल्लेख गर्दै उनले यसलाई गतिशील बनाउन सबैलाई आह्वान गरे।
सुदृढ संरचनाले सहयोग गरेमा मात्रै पार्टीलाई छिटो र प्रभावकारी रूपमा रूपान्तरण गर्न सकिने उनले बताए।










Facebook Comments