काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरूङले केही महाधिवेशन तथा महासमिति सदस्यहरूले पार्टी परित्याग गरेको सामाजिक सञ्जालमा घोषणा गरेको सम्बन्धमा ध्यानाकर्षण गर्दै पार्टी परित्याग गर्नु ठूलो भुल हुने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग नगर्न अपिल समेत गरेका छन् । 

ad

उनले लेखेका छन्–

नेपाली कांग्रेस विशेष महाधिवेशनलाई सम्मानित सर्वोच्च अदालतले वैधानिकता प्रदान गरिसके पछि अदालतको फैसलालाई स्वीकार गर्नु लोकतन्त्रिक चरित्र भित्र पर्दछ। अब पार्टीको बृहत्तर हितका लागी एकताबद्ध भएर लाग्नुको विकल्प छैन।

प्रिय साथीहरू, हिजो मात्रै हामी केही पूर्व कन्द्रीय नेता साथीहरू बसेर सम्मानित अदालतको फैसलालाई स्वीकार गरेर अगाडि बढ्ने भन्ने टुंगो लगाई सकेको अवस्था हो तर अझै पनि सामाजिक संजालमार्फत नेपाली कांग्रेसका केही साथीहरूले पार्टी छाडेको घोषणा गरिरहेको तर्फ मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

प्रिय साथीहरू, हामीले यही पार्टीमा रहेर रगत बगायौं, कठिनतम् जीवन बितायौं। आफ्नै रगत र पसिनाले सिंचेको पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ। तसर्थ यस्तो भूल नगर्न र पार्टीमै रहेर पार्टी प्रति थप योगदान पु(याउनका लागि हार्दिक अनुरोध गर्दछु। नेपाली कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति एवं पदाधिकारी सदस्य साथीहरूलाई हार्दिक बधाई। जय नेपाल।