काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका विवाद र असन्तुष्टि आगामी १५औँ महाधिवेशनमार्फत समाधान हुने बताएका छन्।

आइतबार काठमाडौं जिल्ला कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनलाई सबै पक्षको साझा सहभागिता सुनिश्चित गर्ने मंचका रूपमा अघि बढाइने स्पष्ट पारे। उनका अनुसार पार्टीभित्र देखिएका मतभेदहरूलाई संस्थागत प्रक्रियामार्फत टुंग्याइनेछ।

ad

पौडेलले पार्टीका अग्रज नेताहरूलाई अभिभावकका रूपमा सम्मान गरिने उल्लेख गर्दै संगठनका लागि योगदान दिएका सबै नेताहरूलाई पार्टीका हरेक तह र प्रक्रियामा समेट्ने प्रतिबद्धता जनाए। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको समग्र हितका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

असन्तुष्ट समूहलाई समेत समेट्ने रणनीतिअनुसार केन्द्रीय समिति तथा अन्य निकायहरूमा प्रतिनिधित्व दिइने उनले बताए। विशेष महाधिवेशनबाट प्राप्त म्यान्डेट र पार्टी विधानको दायराभित्र रहेर संगठनलाई थप एकताबद्ध बनाइने उनको भनाइ छ।