काठमाडौं । एमालेमा नेतृत्व हस्तान्तरणका लागि दबाब बढिरहँदा पनि अध्यक्ष केपी शर्मा ओली पक्षधर केही नेताहरूले त्यसलाई विषयान्तर गर्न वाम एकताको कार्ड फ्याँकेपछि फेरि एमालेजनहरू तरंगित बनेका छन् । फागुन २१को प्रतिनिधिसभाको निर्वाचनमा भएको शर्मनाक हारको समीक्षा र नेतृत्व परिवर्तनको बहसलाई टार्नका लागि ओली निकटस्थ नेताहरूले नै नेकपासँग एकताको बेमौसमी बाजा बजाइरहेको एमालेकै एक नेताले देशान्तरलाई बताए । गत मंसिर अन्तिम साता भएको ११औँ राष्ट्रिय महाधिवेशनमा ओली प्यानलबाट निर्वाचित भएका कतिपय पदाधिकारीले समेत अब ओलीको विकल्प नखोजे एमाले र कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताइरहेको बेला ओली निकटस्थ मानिएका केही नेताले भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता संवाद चलाउन सुरु गरेको संकेत पाएपछि एमाले नेता सुरेन्द्र पाण्डेले फेसबुकमा केही दिनअगाडि स्टाटस लेखेर पार्टी नेतृत्वमाथि संकट आइलागेको अवस्थामा कतिपय नेताहरूले फेरि वाम एकताको कार्ड फ्याँकेको टिप्पणी गरेका थिए । उनले लेखेका छन्– ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’ 

यता, अध्यक्ष ओली स्वेच्छिक रूपमा नेतृत्व त्याग्न तयार नभएकाले विशेष महाधिवेशन बोलाउन केही नेताहरूले फेरि हस्ताक्षर अभियान चलाउने तयारी गरेका छन् । ओलीनिकटस्थ केही नेताहरूले आफूहरू पार्टी पुनर्गठनका लागि तयार भएको आश्वासन दिँदै तत्काल हस्ताक्षर अभियान रोक्न भनेपछि केही दिन रोकेका युवा नेताहरूले फेरि आफ्नो अभियान अघि बढाउने तयारी गरेका हुन् । प्रतिनिधिसभा निर्वाचनपछि अपेक्षाकृत कमजोर परिणाम आएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ । पार्टीका वरिष्ठ नेताहरू विष्णु पौडेल र शंकर पोखरेललगायतले नेतृत्व परिवर्तनका लागि दबाब बढाउँदै आएका छन् । 

ad

पछिल्लो समय एमालेभित्र पार्टी पुनर्गठनको आवाज तीव्र बन्दै जाँदा एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नुलाई पनि अर्थपूर्ण रूपमा लिइएको छ । भण्डारीले पार्टीका जनसंगठन प्रमुखहरूसँग भेटघाट तथा छलफललाई निरन्तरता दिएकी छन् ।

शुक्रबार भण्डारीले एमाले सचिव तथा जनसंगठन समन्वय समिति इन्चार्ज भानुभक्त ढकालसहित विभिन्न जनसंगठनका प्रमुखहरूसँग छलफल गरेकी हुन् । भेटघाटको औपचारिक उद्देश्य आगामी असार १४ गते मनाइने मदन भण्डारी हिरक जयन्तीको तयारी रहेको बताइएको छ । तर, छलफल केवल कार्यक्रम व्यवस्थापनमा सीमित नभई समसामयिक राजनीति र पार्टीभित्र देखिएको आन्तरिक अवस्थासम्म पुगेको स्रोतहरूको भनाइ छ । 

एमाले अध्यक्ष ओलीले पूर्वउपाध्यक्ष भण्डारीले सक्रिय राजनीतिमा आउनका लागि मदन भण्डारी फाउन्डेसनको मञ्च प्रयोग गरेकोमा असन्तुष्टि जनाउँदै आफूनिकट नेता–कार्यकर्तालाई त्यस्ता गतिविधिमा संलग्न नहुन निर्देशन दिएका थिए । ढकालले पनि फाउन्डेसनमार्फत भण्डारीले गरेका सक्रिय राजनीति गतिविधिको विरोध गर्दै आएका थिए । तर केही दिन अघि भण्डारीसँग भएको छलफलमा ढकालको उपस्थितिलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले २०८२ असार १५मा आफू फेरि सक्रिय राजनीतिमा आउने औपचारिक घोषणा गरेकी थिइन् । तर अध्यक्ष ओलीको निर्देशनमा एमालेले सदस्यता नवीकरण नगरिएपछि उनी सक्रिय राजनीतिमा फर्किन सकिनन् र मंसिरको महाधिवेशनमा ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको प्यानललाई समर्थन गरे पनि जिताउन भने असफल भएकी थिइन् ।