काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पार्टीको संगठनात्मक तथा राजनीतिक गतिविधि अघि बढाउन सचिवालय बैठक बोलाएको छ। पार्टीले भोलि अपराह्नका लागि बैठक तय गरेको जनाएको छ।

पार्टी स्रोतका अनुसार बैठकमा संगठन सुदृढीकरण, आन्तरिक संरचना व्यवस्थापनदेखि महाधिवेशन तयारीसम्मका विषयहरूमा छलफल हुने छ। सचिवालय बैठकका लागि ९ वटा प्रमुख एजेन्डा निर्धारण गरिएको छ।

ad

मुख्य एजेन्डामा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालनसम्बन्धी व्यवस्था, तथा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूको मनोनयन समेटिएका छन्। त्यस्तै, आगामी महाधिवेशनका लागि कार्यविधि मस्यौदा समिति गठन गर्ने विषय पनि छलफलमा रहनेछ।

पार्टीले विशेषज्ञ तथा परियोजना प्रस्ताव आह्वान (Call for Experts and Project Ideas) गर्ने एजेन्डा पनि राखेको छ, जसलाई संगठनमा नयाँ सोच र दक्ष जनशक्ति समेट्ने प्रयासका रूपमा हेरिएको छ।

विविध शीर्षक अन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी पुनरावलोकन, केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलको प्राविधिक सहयोग र लेवी व्यवस्थापनसम्बन्धी विषयहरू समेटिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाको यो बैठकले पार्टीको आन्तरिक संरचना थप व्यवस्थित गर्ने र आगामी राजनीतिक रणनीति तय गर्ने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय संगठन विस्तार र संस्थागत सुधारमा जोड दिँदै आएको रास्वपाले यो बैठकमार्फत महाधिवेशन तयारीलाई औपचारिक रूपमा अघि बढाउने संकेत दिएको छ।