काठमाडौं । जनता समाजवादी पार्टी नेपालले नेपाल–भारत सीमाक्षेत्रमा लागू गरिएको नयाँ भन्सार व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। पार्टीले उक्त व्यवस्था तत्काल खारेज गरी पुरानै अभ्यास कायम गर्न माग गरेको हो।

पार्टीका संरक्षक महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्न सरकारलाई सुझाव दिएका छन्। उनले दुई देशबीचको सम्बन्ध केवल कूटनीतिक नभई सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा गहिरो रूपमा जोडिएको उल्लेख गरेका छन्।

ad

विज्ञप्तिमा सीमाक्षेत्रमा लागू गरिएको नयाँ प्रावधानले स्थानीय नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर परेको दाबी गरिएको छ। विशेषगरी भारतबाट आउने व्यक्तिहरूले १०० रुपैयाँसम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाउने व्यवस्थालाई अव्यावहारिक र जनजीवन प्रतिकूल भनिएको छ।

“नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको यस्तो व्यवस्थाले सीमावर्ती समुदायलाई अनावश्यक झन्झटमा पारेको छ,” विज्ञप्तिमा उल्लेख छ। साथै, यसले परम्परागत आवतजावत, किनमेल र सांस्कृतिक आदान–प्रदानमा समेत बाधा पुर्‍याउने पार्टीको भनाइ छ।

जसपा नेपालले यस्तो नीतिले दुई देशबीचको सदियौँदेखिको आत्मीय सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ। पार्टीले सरकारलाई स्थानीय जनताको आवश्यकता र संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल निर्णय सच्याउन आग्रह गरेको छ।

हाल लागू गरिएको व्यवस्थाअनुसार सीमावर्ती क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूले सीमित मूल्यसम्मका सामान मात्र भन्सार छुटमा ल्याउन पाउने प्रावधान छ। सरकारले राजस्व चुहावट नियन्त्रण र व्यवस्थित व्यापारका लागि यस्तो कदम चालेको जनाएको छ।

तर, यस निर्णयले स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको देखिएको छ। जसपा नेपालको मागपछि सरकार उक्त व्यवस्था पुनरावलोकनतर्फ जान्छ वा यथावत राख्छ भन्ने विषय चासोका रूपमा हेरिएको छ।