काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धराष्ट्रिय जेनजी नागरिक अभियानआन्दोलित भएको छ। अभियानलेनेपाल आयल निगमर सरकारलाई २४ घण्टाभित्र मूल्य समायोजन गर्न अल्टिमेटम दिँदै अन्यथा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजकसुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्यवृद्धि असह्य भएको बताएका छन्। उनले तोकिएको समयभित्र मूल्य नघटाए आयल निगम घेराउ गर्ने चेतावनी दिँदै सरकारमाथि जनतामाथि महँगी थोपरेको आरोप लगाए। “जनतालाई राहत दिनुपर्ने समयमा उल्टै मूल्यवृद्धिको बोझ थोपारिएको छ,” उनले भने।

ad

अभियानका सह–संयोजकअजय सोडारीले छिमेकीभारतसँग तुलना गर्दै नेपालमा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढाइएको दाबी गरे। उनका अनुसार भारतमा पेट्रोलको मूल्य कम हुँदा नेपालमा अत्यधिक महँगो हुनु नीतिगत कमजोरीको परिणाम हो। उनले कर छुटको नाममा जनतालाई झुक्याइएको आरोपसमेत लगाए।

सोडारीले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा गरिएको पछिल्लो वृद्धिले सर्वसाधारणको दैनिक जीवनमा गम्भीर असर पारेको उल्लेख गर्दै मूल्य पुनरावलोकन गर्न सरकारसँग माग गरे। 'महँगी लगातार बढिरहेको छ, तर जिम्मेवार निकाय मौन देखिन्छन्,' उनले भने।

अभियानका अर्का प्रतिनिधिप्रकाश बमले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नागरिकका आवाजलाई बेवास्ता गरिएको आरोप लगाए। उनले आन्दोलनबाट स्थापित सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा वक्ताहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुका साथै पारदर्शी मूल्य निर्धारण प्रणाली लागू गर्न माग गरेका छन्। उनीहरूले सरकारले माग सम्बोधन नगरे देशव्यापी आन्दोलनको तयारी गरिने चेतावनी दिएका छन्।

पछिल्लो समय इन्धनको मूल्यवृद्धिलाई लिएर विभिन्न समूहले असन्तुष्टि जनाइरहेका बेला जेनजी अभियानको यो अल्टिमेटमले थप दबाब सिर्जना गर्ने देखिएको छ।