काठमाडौं । विष्णु पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको परिणामलाई गम्भीर रूपमा समीक्षा गर्दै तत्काल पुनर्गठनमा केन्द्रित हुनुपर्ने बताएका छन्। नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले अहिलेको प्राथमिकता स्पष्ट हुनुपर्ने भन्दै आन्तरिक बहसलाई नयाँ दिशातर्फ लैजानुपर्ने धारणा राखेका हुन्।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्वाचन परिणामलाई सामान्य रूपमा लिन नहुने उल्लेख गरेका छन्। उनका अनुसार पार्टीले भोगेको पराजय केवल चुनावी घटना मात्र नभई संगठनात्मक कमजोरी, रणनीतिक त्रुटि र नेतृत्वको कार्यशैलीसँग जोडिएको विषय भएकाले यसको गहिरो विश्लेषण अपरिहार्य छ।

ad

यस्तै, पछिल्लो समय पार्टीभित्र र बाहिरबाट उठ्दै आएको ‘वामपन्थी एकता’को बहसप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्। अहिलेको अवस्थामा यस्तो बहस सान्दर्भिक नभएको भन्दै उनले यसको उद्देश्य र समयबारे प्रश्न उठाएका छन्। 'पार्टीको प्राथमिक कार्यसूची पुनर्गठन र आत्मसमीक्षा हुनुपर्ने बेला अन्यत्र ध्यान मोड्ने प्रयास भइरहेको छ,' उनले लेखेका छन् । 

एमालेभित्र केही नेताहरूले भने वाम शक्तिहरूबीच सहकार्यको आवश्यकता औंल्याउँदै आएका छन्। तर पौडेलको भनाइले अहिलेको प्राथमिकता बाह्य गठबन्धनभन्दा आन्तरिक सुदृढीकरण हुनुपर्ने स्पष्ट सन्देश दिएको देखिन्छ।