काठमाडौं । नेकपा एमाले भित्र पछिल्लो समय राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को सक्रियता पनि बढेको देखिएको छ। उनले पार्टीका जनसंगठन प्रमुखहरूसँग भेटघाट तथा छलफललाई निरन्तरता दिएकी छन्।

शुक्रबार भण्डारीले एमाले सचिव तथा जनसंगठन समन्वय समिति इन्चार्ज भानुभक्त ढकाल सहित विभिन्न जनसंगठनका प्रमुखहरूसँग छलफल गरेकी हुन्। भेटघाटको औपचारिक उद्देश्य आगामी असार १४ गते मनाइने मदन भण्डारी हिरक जयन्ती लाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी रहेको बताइएको छ।

ad

यद्यपि, छलफल केवल कार्यक्रम व्यवस्थापनमा सीमित नभई समसामयिक राजनीति र पार्टीभित्र देखिएको आन्तरिक अवस्थासम्म पुगेको स्रोतहरूको भनाइ छ। विशेषगरी नेतृत्व परिवर्तनको बहसबारे पनि अनौपचारिक रूपमा कुराकानी भएको जनाइएको छ।

हालैको प्रतिनिधिसभा निर्वाचनपछि अपेक्षाकृत कमजोर परिणाम आएसँगै एमालेभित्र नेतृत्वबारे बहस चर्किएको छ। पार्टीका वरिष्ठ नेताहरू विष्णु पौडेल र शंकर पोखरेल लगायतले नेतृत्व पुनर्संरचनाको पक्षमा तयारी गरिरहेको चर्चा छ।

यसैबीच, भण्डारी निकट समूहले उनलाई पुनः सक्रिय राजनीतिमा ल्याउने सम्भावनाबारे आन्तरिक रूपमा पहल गरिरहेको संकेत पनि देखिएको छ। यस्तो पृष्ठभूमिमा भएको जनसंगठन प्रमुखहरूसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तर, भानुभक्त ढकालले भने उक्त छलफललाई नियमित तयारीकै रूपमा व्याख्या गरेका छन्। उनका अनुसार हिरक जयन्तीलाई व्यवस्थित र प्रभावकारी रूपमा मनाउने विषयमा केन्द्रित भएर गहन छलफल गरिएको हो।