
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेता चयन प्रक्रिया सुरु भए पनि पहिलो दिनमै निष्कर्षमा पुग्न सकेको छैन। दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकमा नेताहरूबीच व्यापक छलफल भए पनि सहमति जुट्न नसकेको हो।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइली का अनुसार दलको नेता चयनका लागि प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको छ। तर, आजको बैठकले अन्तिम निर्णय दिन सकेन र थप छलफल आवश्यक देखिएको छ।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन्। साथै अन्य केही नेताहरूको नाम पनि चर्चामा रहेको बताइएको छ। प्रतिनिधिसभामा कांग्रेसका कुल ३८ सांसद रहेका छन्।
बैठकमा सहभागी अधिकांश सांसदहरूले सकेसम्म सर्वसम्मत रूपमा नेता चयन गर्नुपर्नेमा जोड दिएका छन्। सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत टुंगो लगाउने विकल्प खुला राखिएको छ।
नेता दाबी गरिरहेका अर्जुननरसिंह केसी का अनुसार बैठकमा ३८ मध्ये २६ सांसदले धारणा राखेका थिए। उनले दलको नेता चयन ढिलाइ भएको विषयमा असन्तुष्टि व्यक्त गर्दै चाँडो निष्कर्षमा पुग्न सबैको साझा चाहना रहेको बताए।
पार्टीभित्र सहमतिको प्रयासलाई निरन्तरता दिन शनिबार पुनः छलफल गर्ने तयारी गरिएको छ। रसाइलीका अनुसार अबको बैठकमा पार्टी नेतृत्वसँगै दाबेदारहरूसँग छलफल गरी सहमति खोजिनेछ।
कांग्रेसले आन्तरिक सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्राथमिकता राखेको भए पनि आवश्यक परे मतदान प्रक्रियाबाट निर्णय गर्ने संकेत दिएको छ।










Facebook Comments