सुनसरी–१ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ ले कर्मचारी व्यवस्थापन र कानुनी संरचनामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्दै खुलापत्र सार्वजनिक गरेका हुन्।

पत्रमा उनले देशको विकासमा प्रमुख अवरोधका रूपमा प्रशासनिक जटिलता र कर्मचारी संयन्त्रको कार्यशैलीलाई औंल्याएका छन्। जनप्रतिनिधिको निर्देशन पालना नगर्ने, निर्णय कार्यान्वयनमा ढिलासुस्ती गर्ने र प्रक्रियालाई नै प्राथमिकता दिने प्रवृत्तिले विकास अवरुद्ध भएको उनको दाबी छ।

ad

कानुनी तथा प्रशासनिक प्रणालीलाई ‘गहिरो समस्या’को रूपमा व्याख्या गर्दै उनले यसको समाधानका लागि संरचनागत सुधार अनिवार्य भएको उल्लेख गरेका छन्। उनका अनुसार हालको जटिल कानुनी प्रक्रिया र कार्यशैलीले कामभन्दा प्रक्रिया लम्ब्याउने प्रवृत्ति बढाएको छ।

साम्पाङले सरकारसमक्ष दुई प्रमुख प्रस्ताव राखेका छन्। पहिलो, कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउन स्थायी नियुक्तिको व्यवस्था हटाएर करार प्रणाली लागू गर्नुपर्ने। दोस्रो, विकासमा बाधा पुर्‍याउने जटिल कानुनहरू संशोधन वा खारेज गरी सरल र व्यवहारिक कानुनी संरचना निर्माण गर्नुपर्ने।

उनले आवश्यक परे आफ्नो तर्फबाट सुझाव, सहकार्य र सहयोग गर्न तयार रहेको पनि जनाएका छन्।