काठमाडौंमा वैदेशिक रोजगारीसम्बन्धी विज्ञापनलाई थप पारदर्शी बनाउन नयाँ कडाइ गरिएको छ। वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई अबदेखि विज्ञापन प्रकाशित गर्दा अनिवार्य रूपमा आधिकारिक सम्पर्क विवरण खुलाउन निर्देशन दिएको हो।

विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने इजाजतप्राप्त संस्थाहरूले पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा सम्पर्क व्यक्तिको नाम, मोबाइल नम्बर र संस्थाको स्पष्ट ठेगाना उल्लेख गर्नुपर्नेछ। यस्तो विवरण नहुँदा सर्वसाधारण ठगीमा पर्ने जोखिम बढेको र इच्छुक व्यक्तिहरूले आवेदन दिनै नसक्ने अवस्था देखिएको विभागले जनाएको छ।

ad

हालसम्म प्रकाशित कतिपय विज्ञापनमा दिइएको फोन नम्बर नउठ्ने, सम्पर्क गर्दा आधिकारिक व्यक्ति नभेटिने जस्ता गुनासाहरू बढ्दै गएको विभागको भनाइ छ। यसले वैदेशिक रोजगारीमा जान चाहने युवाहरू अन्योलमा पर्ने र प्रक्रिया अपारदर्शी बन्ने समस्या देखिएको छ।

प्रचलित व्यवस्थाअनुसार वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्दा राष्ट्रियस्तरका दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने र त्यसबारे विभागलाई जानकारी गराउनुपर्ने प्रावधान छ। तर, नयाँ निर्देशनले यस प्रक्रियालाई अझ व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रका लागि पूर्व–स्वीकृति लिन आवेदन दिँदा नै सम्बन्धित सम्पर्क व्यक्तिको विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

विभागले जारी गरेको निर्देशन अवज्ञा गर्ने म्यानपावर कम्पनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।