
काठमाडौं । शेयर बजार सञ्चालनसम्बन्धी नियममा महत्वपूर्ण परिवर्तन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबारलाई थप लचकदार बनाउने उद्देश्यसहित नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको हो।
नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’मा चौथो संशोधन गर्दै नयाँ प्रावधान ल्याएको हो, जसलाई नेपाल धितोपत्र बोर्ड को स्वीकृति प्राप्त भइसकेको छ। संशोधित व्यवस्था आगामी वैशाख ७ गतेदेखि लागू हुनेछ।
नयाँ नियमअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ। यसअघि यस्तो सीमा १० प्रतिशतमा सीमित थियो। यसले बजारमा मूल्यको उतारचढावलाई केही हदसम्म खुला बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, प्री–ओपन सेसनमा पनि मूल्य सीमामा परिवर्तन गरिएको छ। अब बजार खुल्नुअघि हुने कारोबारमा शेयर मूल्य ५ प्रतिशतसम्म घटबढ गर्न पाइनेछ, जुन पहिले २ प्रतिशत मात्रै थियो। यस व्यवस्थाले प्रारम्भिक कारोबारलाई थप सक्रिय बनाउने विश्वास गरिएको छ।
साथै, सर्किट ब्रेकर प्रणालीमा पनि परिवर्तन गरिएको छ। यसअघि रहेको तीन तहको सर्किट ब्रेकर हटाएर अब दुई तहको प्रणाली लागू गरिनेछ। नयाँ व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ। त्यसपछि पुनः खुलेको बजारमा सूचक ८ प्रतिशतले परिवर्तन भएमा उक्त दिनको बाँकी समयका लागि कारोबार पूर्ण रूपमा बन्द गरिनेछ।
नयाँ प्रावधानले बजारलाई अधिक गतिशील बनाउने, तर जोखिम व्यवस्थापनका लागि आवश्यक नियन्त्रण पनि कायम राख्ने लक्ष्य लिएको नेप्सेले जनाएको छ।










Facebook Comments