
काठमाडौंमा घरेलु हिंसाका घटनामा पुरुष पीडितको संख्या पनि देखिन थालेको छ। पछिल्लो तथ्यांकले महिलामात्र नभई पुरुषहरू पनि हिंसाको चपेटामा परिरहेको संकेत गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले गत असोजदेखि चैतसम्मको अवधिमा घरेलु हिंसासम्बन्धी १ हजार ३९ उजुरी दर्ता भएको जानकारी दिए। तीमध्ये ९८ वटा उजुरी पुरुषहरूले आफू पीडित भएको भन्दै दिएका छन्।
उनका अनुसार विगतमा घरेलु हिंसाका घटनामा महिला र बालबालिका प्रमुख पीडितका रूपमा देखिन्थे, तर अहिले पुरुषहरू पनि उजुरी लिएर प्रहरीसमक्ष आउने क्रम बढ्दै गएको छ। “पहिले पुरुषको उपस्थिति न्यून हुन्थ्यो, अहिले भने क्रमशः बढिरहेको छ,” उनले बताए।
प्रहरीले पुरुषहरू घरेलु हिंसामा पर्नुका कारणहरू पनि औंल्याएको छ। तीव्र सहरीकरण, सामाजिक परिवेशको परिवर्तन, वैदेशिक रोजगारीका कारण पारिवारिक दूरी र त्यसबाट उत्पन्न तनाव जस्ता पक्षहरूले यस्तो अवस्था सिर्जना गरिरहेको एसपी भट्टराईको विश्लेषण छ।
दर्ता भएका कुल उजुरीमध्ये ९२८ वटा मुद्दा फस्र्योट भइसकेका छन्। साथै, पीडित र सम्बन्धित व्यक्तिहरूमध्ये करिब ७० प्रतिशत अर्थात् ९२० जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घरेलु हिंसालाई गम्भीर सामाजिक समस्याका रूपमा लिँदै सबै प्रकारका पीडितलाई समान रूपमा न्याय र सहयोग उपलब्ध गराउने प्रयास जारी राखेको जनाएको छ।









Facebook Comments