काठमाडौं उपत्यकाका तीनै जिल्लाले माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिका जाँच कार्य सम्पन्न गरी नतिजासहित राष्ट्रिय परीक्षा बोर्डमा बुझाएका छन्। तोकिएको समयसीमाभित्रै काम सकेर उपत्यकाले अग्रता देखाएको छ भने अन्य जिल्लामा भने अझै संकलन र बुझाउने प्रक्रिया जारी रहेको छ।

यस वर्ष परीक्षा सकिएको केही दिनभित्रै कापी जाँच सक्ने लक्ष्यसहित काम अघि बढाइएको थियो। सोही अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूले आ–आफ्नो जिम्मेवारी पूरा गरेका हुन्।

ad

सबैभन्दा अन्तिममा काठमाडौं जिल्लाले शुक्रबार दिउँसो सम्पूर्ण नतिजा र उत्तरपुस्तिका बोर्डमा बुझाएको जानकारी प्राप्त भएको छ। यसअघि नै ललितपुर र भक्तपुरले आफ्नो काम सम्पन्न गरिसकेका थिए।

काठमाडौंका इकाई प्रमुख समन्तमणि आचार्यका अनुसार जिल्लामा धेरै परीक्षा केन्द्र रहेकाले उत्तरपुस्तिका संकलनमा केही समय लागेको हो। “अन्तिम चरणमा रहेका केही विद्यालयका कापी पनि संकलन गरी पठाउँदैछौं, अब हाम्रो जिम्मेवारी पूरा हुन्छ,” उनले बताए। काठमाडौंमा १३४ परीक्षा केन्द्रमार्फत करिब ४० हजार विद्यार्थी सहभागी भएका थिए।

भक्तपुरले भने समयअगावै काम सकेको छ। इकाई प्रमुख कमला ज्ञवालीका अनुसार चैत अन्तिमसम्ममै सबै उत्तरपुस्तिका र नतिजा बोर्डमा बुझाइएको थियो। जिल्लामा सञ्चालन भएका २३ परीक्षा केन्द्रबाट करिब ६ हजारभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

ललितपुरले पनि वैशाख २ गतेभित्रै सम्पूर्ण विवरण बुझाइसकेको छ। त्यहाँ ४० परीक्षा केन्द्रमा करिब १० हजार ५ सय विद्यार्थीले परीक्षा दिएका थिए। इकाई प्रमुख प्रकाश सापकोटाका अनुसार परीक्षा केन्द्रबाट आएको सामग्री व्यवस्थापनमा ढिलाइ हुँदा केही दिनपछि मात्र बोर्डमा बुझाइएको हो।

चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाको नतिजा र उत्तरपुस्तिका वैशाख ५ भित्र बुझाउन बोर्डले निर्देशन दिएको थियो। उपत्यकाले समयमै काम सके पनि देशका अन्य जिल्लाबाट भने अझै विवरण आउने क्रम जारी छ।

परीक्षा नियन्त्रण कार्यालयका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार शुक्रबार अपराह्नसम्म सबै जिल्लाबाट नतिजा आइपुगेको छैन। “केही जिल्लाले आंशिक रूपमा नतिजा पठाइरहेका छन्, पूर्ण विवरण आउन अझै समय लाग्छ,” उनले भनिन्।

हाल देशभरबाट उत्तरपुस्तिका र नतिजा बुझाउने कार्य तीव्र रूपमा भइरहेको छ। बोर्डले वैशाखको अन्तिम साताभित्र एसइई नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। प्राविधिक समस्या नआए निर्धारित समयमै नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।