
काठमाडौं । विभिन्न आरोपसँग सम्बन्धित न्यायिक प्रक्रिया अघि बढाउन माग गर्दै तीन जना पीडितहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन्।
उनीहरूले नेकपा (एमाले) का केही नेताहरूबाट आफूहरू यौन शोषणमा परेको आरोप लगाउँदै तत्काल अनुसन्धान र कारबाहीको माग गरेका हुन्।
धर्नामा सहभागीमध्ये कालिकोटकी जमुना खत्रीले पूर्वसांसद कर्ण मल्लसँग सम्बन्धित घटनामा न्याय नपाएको भन्दै चैत ८ गतेदेखि निरन्तर धर्ना दिँदै आएकी छन्। मल्लविरुद्धको मुद्दा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ।
त्यस्तै, बिहीबारदेखि धादिङकी शोभा पाठक र बझाङकी रस्मिला धामीले पनि छुट्टाछुट्टै आरोपसँग सम्बन्धित न्यायको माग गर्दै धर्ना सुरु गरेका छन्।
उनीहरूले पूर्वमन्त्री तथा एमाले सचिव महेश बस्नेत र बझाङबाट निर्वाचित सांसद एन महरविरुद्ध अनुसन्धान अघि बढाउन माग गरेका हुन्।
ती दुवै महिलाका मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको जनाइएको छ। उनीहरूले आरोपित व्यक्तिहरूलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग राखेका छन्।
यसअघि सम्बन्धित व्यक्तिमाथि पक्राउको माग भए पनि अदालतले अनुमति नदिएको जनाइएको छ। धर्नामा सहभागीहरूले न्यायिक प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्ने भन्दै राज्यको ध्यानाकर्षण गराएका छन्।










Facebook Comments