काठमाडौं । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित बाढी, पहिरो र मौसमी विपद्को जोखिम न्यूनीकरणका लागि विस्तृत पूर्वतयारी योजना सार्वजनिक गरेको छ। विभागले यस वर्ष मौसम तथा बाढी पूर्वानुमान सेवालाई चौबिसै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ।

विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठका अनुसार मनसुन अवधिभर मौसम पूर्वानुमान र बाढी पूर्वानुमान महाशाखा निरन्तर सक्रिय रहनेछन्। नियमित रूपमा दैनिक दुई पटक मौसम बुलेटिन जारी गरिनेछ भने विशेष अवस्थामा तीनदेखि पाँच दिनअघि नै चेतावनीसहित विशेष सूचना प्रकाशन गरिनेछ।

ad

भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हिमपातजस्ता जोखिमपूर्ण मौसमी अवस्थाबारे रङ्ग सूचकसहितको चेतावनी नक्सा सार्वजनिक गरिने विभागले जनाएको छ। यसले जोखिमको स्तरअनुसार सर्वसाधारणलाई समयमै सतर्क गराउने अपेक्षा गरिएको छ।

विभागका अनुसार देशभर रहेका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट प्राप्त तथ्याङ्क वास्तविक समयमा अनलाइनमार्फत सार्वजनिक गरिनेछ। प्रमुख नदी प्रणालीहरू—कोशी, गण्डकी, कर्णाली, बागमती, बबई र पश्चिम राप्तीमा कम्तीमा तीन दिनअगावै बाढी पूर्वानुमान गरिने व्यवस्था गरिएको छ।

साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने अवस्थाका लागि दुईदेखि छ घण्टाअगावै सूचना दिने प्रणाली सक्रिय बनाइएको छ। ठूलो बाढीको सम्भावना देखिएमा पाँच दिनअगावै पूर्वानुमान जारी गरिने विभागको तयारी छ।

पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन एसएमएस अलर्ट सेवा विस्तार गरिएको छ। नेपाल टेलिकम र एनसेलमार्फत जोखिम क्षेत्रमा रहेका नागरिक, जनप्रतिनिधि र सरोकारवालालाई निःशुल्क सन्देश पठाइनेछ।

विभागले ११५५ नम्बरको टोल–फ्री सेवा पनि मनसुन अवधिभर चौबिसै घण्टा सञ्चालनमा रहने जनाएको छ, जसअन्तर्गत बाढी तथा मौसमसम्बन्धी जानकारी लिन सकिनेछ। साथै, आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र इमेलमार्फत नियमित बुलेटिन तथा चेतावनी प्रकाशन गरिनेछ।

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरेर सूचना प्रवाह गरिने विभागले जनाएको छ। आवश्यकता परेमा प्रेस विज्ञप्तिमार्फत समेत सर्वसाधारणलाई सचेत गराइने व्यवस्था गरिएको छ।