काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाबारे पुनः निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको छ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न गठित समितिले प्रतिवेदनको विश्लेषणपछि घटनाबारे थप छानबिन आवश्यक देखिएको जनाएको हो। अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा तयार गरिएको अध्ययन प्रतिवेदनमा हालको छानबिनले पूर्णता नपुगेको र केही पक्षहरूमा पुनरावलोकन आवश्यक रहेको उल्लेख गरिएको छ।

ad

समितिका अनुसार आयोगको मूल कार्यादेश भदौ २३ र २४ गतेका घटनाको तथ्यगत छानबिन गर्ने भए पनि प्रतिवेदनमा राजनीतिक तथा संरचनागत विषयहरू समेत प्रवेश गरिएको देखिएको छ, जसले कार्यक्षेत्र सीमित हुने कानुनी मर्मसँग मेल नखाने टिप्पणी गरिएको छ।

त्यसैगरी, प्रतिवेदनमा भदौ २३ का घटनामा बढी केन्द्रित भई २४ गतेको घटनामा भएको मानवीय तथा भौतिक क्षतिको पर्याप्त र सन्तुलित विश्लेषण नभएको निष्कर्ष निकालिएको छ।

समितिले आयोगका कतिपय निष्कर्षहरू तथ्यमा आधारित भए पनि विश्लेषणमा असन्तुलन र कार्यादेश बाहिर गएर विषय विस्तार गरिएको कारण प्रतिवेदनमाथि प्रश्न उठ्ने अवस्था बनेको जनाएको छ।

प्रतिवेदनले घटनाका केही पक्ष उजागर गरे पनि कानुनी रूपमा सीमित दायराभित्र पूर्ण र सन्तुलित रूपमा प्रस्तुत हुन नसकेको भन्दै थप सावधानीपूर्वक मूल्यांकन आवश्यक रहेको समितिको ठहर छ।