काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा तिवारीविरुद्ध आरोपपत्र दर्ता गरेको हो। आयोगका अनुसार उनले आफ्नो कार्यकालका क्रममा १० करोड ५४ लाखभन्दा बढी रकम अनियमित तरिकाले हिनामिना गरेको आरोप लागेको छ।

ad

मुद्दामा तिवारीसँगै उनकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाइएको स्रोतले जनाएको छ। उनीहरूमाथि पनि उक्त आर्थिक अनियमिततामा संलग्न रहेको अभियोग लगाइएको छ।

विशेष अदालतमा दर्ता भएको यो मुद्दा अब कानुनी प्रक्रियाअनुसार अघि बढ्नेछ। २०७३ सालमा प्राधिकरणको नेतृत्व सम्हालेका तिवारी कार्यकालकै दौरान विभिन्न विवादका कारण चर्चामा रहेका थिए।