काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समितिको अध्यक्षमा उदयबहादुर रानामगरले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वैशाख २ गतेको निर्णयअनुसार उनलाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरिएको हो।

रानामगरले भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा पद बहाली गर्दै संस्थालाई परिणाममुखी र आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई व्यवस्थित गर्न प्रत्येक पदाधिकारी र कर्मचारीको स्पष्ट कार्यविवरण तयार पार्न निर्देशन दिएका छन्।

ad

नयाँ अध्यक्षले सरकारी कर्मचारीप्रति नकारात्मक धारणा बनिरहेको उल्लेख गर्दै त्यसलाई सुधार्न सबैले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले उपलब्धिमूलक काममार्फत मात्र सेवा सुविधा सम्बन्धी माग अघि बढाउनुपर्ने धारणा पनि व्यक्त गरे।

रानामगरले आफू पूर्णकालीन अध्यक्ष नभएको उल्लेख गर्दै संस्थालाई सामूहिक निर्णय प्रणालीमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। उनले देखिएका नीतिगत समस्याहरू समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा राससका महाप्रबन्धक सन्दीप राईले नयाँ नेतृत्वसँग नीतिगत तथा व्यवस्थापकीय निर्णय प्रक्रियामा थप गति आउने विश्वास व्यक्त गरे। सो अवसरमा संस्थाका विभिन्न विभागीय प्रमुखहरूले समाचार उत्पादन, गुणस्तर अभिवृद्धि तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा अध्यक्षलाई जानकारी गराएका थिए।

यसअघि राससका अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उक्त पद रिक्त रहेको थियो। रानामगर लामो समयदेखि निजामती सेवामा कार्यरत रहँदै विभिन्न प्रशासनिक र कूटनीतिक जिम्मेवारी सम्हालिसकेका छन्।