काठमाडाैं । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकी राजनीतिक वृत्तमा नयाँ विवाद चर्किएको छ। डाेनाल्ड ट्रम्प नेतृत्वको प्रशासनमा रक्षामन्त्री रहेका पेटे हेगसेथविरुद्ध अमेरिकी संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको छ।

हाउस डेमोक्र्याटहरूको समूहले यासामिन अन्सारीको नेतृत्वमा उक्त प्रस्ताव पेश गरेको हो। प्रस्तावमा हेगसेथले कांग्रेसको अनुमति बिना इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको, आफ्नो पदको शपथ उल्लंघन गरेको र अन्तर्राष्ट्रिय कानुनको अवहेलना गरेको आरोप लगाइएको छ।

ad

सबैभन्दा गम्भीर विवाद इरानको मिनाब क्षेत्रमा भएको आक्रमणसँग जोडिएको छ। प्रारम्भिक रिपोर्टअनुसार फेब्रुअरी २८ मा भएको मिसाइल आक्रमण एउटा छात्रा अध्ययन गर्ने विद्यालयमा खसेको थियो, जसमा करिब १७० जनाको ज्यान गएको बताइएको छ। डेमोक्र्याट सांसदहरूले यसलाई सम्भावित युद्ध अपराधको रूपमा व्याख्या गरेका छन्।

महाभियोग प्रस्तावमा हेगसेथले औपचारिक युद्ध घोषणा बिना सैन्य अभियान अघि बढाएको उल्लेख छ। अमेरिकी संवैधानिक व्यवस्थाअनुसार युद्ध घोषणा गर्ने अधिकार कांग्रेससँग मात्र हुने भएकाले यस कदमलाई गैरकानुनी ठहर गरिएको छ।

यसका अतिरिक्त, ‘डबल ट्याप’ स्ट्राइकजस्तो विवादास्पद सैन्य रणनीति प्रयोग गरिएको आरोप पनि लगाइएको छ, जसले नागरिक हताहतको जोखिम बढाउने आलोचना गरिएको छ। त्यस्तै, यमनसम्बन्धी संवेदनशील सैन्य जानकारी असुरक्षित माध्यमबाट साझा गरिएको भन्दै सुरक्षा लापरवाहीको मुद्दा पनि उठाइएको छ।

यद्यपि, महाभियोग प्रस्ताव पारित हुने सम्भावना भने कम देखिएको छ, किनकि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीको बहुमत छ। पेन्टागनले भने सम्पूर्ण आरोप अस्वीकार गर्दै यसलाई ‘राजनीतिक चाल’को रूपमा चित्रित गरेको छ। उनका अनुसार इरानविरुद्धको सैन्य कारबाही राष्ट्रिय सुरक्षाको हितमा गरिएको हो।