काठमाडौँ । प्रतिनिधिसभाका विभिन्न संसदीय समितिहरूमा सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले १२ जना सांसदको समिति सदस्यता परिवर्तन गरेका हुन्।

प्रतिनिधिसभा सचिव हर्कराज राईद्वारा जारी विज्ञप्तिअनुसार संसद् अधिवेशन सुरु भएपछि सहमतिको लागि प्रस्ताव पेश गर्ने गरी यो हेरफेर गरिएको हो।

ad

विज्ञप्तिअनुसार संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपानेको स्थानमा पुनमकुमारी अग्रवाल र चन्दनकुमार सिंहको ठाउँमा दीपकराज बोहोरा चयन भएका छन्।

यस्तै, राम लामा र गणेश कार्कीलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सरुवा गरिएको छ। ललितपुरका सांसद जगदीश खरेललाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ल्याइएको छ।

दीपकराज बोहोरा र बब्लु गुप्तालाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ।

त्यसैगरी, रहबर अन्सारीलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिमा स्थानान्तरण गरिएको छ। हरि प्रसाद भुसाललाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र चन्दनकुमार सिंहलाई उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ।

सभामुखको यो निर्णयसँगै संसदीय समितिहरूको संरचना पुनर्संयोजन गरिएको छ।