
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि त्यसको असर सर्वसाधारणदेखि विद्यार्थी तहसम्म देखिन थालेको छ।
पछिल्ला केही महिनायता सरकारले पटक–पटक इन्धनको मूल्य समायोजन गर्दै आएको छ, जसअनुसार हालै मात्र बुधबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा पुनः मूल्यवृद्धि गरिएको छ। यसअघि पनि छोटो अवधिमा पटकपटकसम्म मूल्य बढाइएको थियो, जसले उपभोक्तामाथि थप आर्थिक भार परेको छ।
यही मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा लगाइएको कर खारेज गर्न र मूल्य घटाउन सरकारसँग माग गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘कर घटाऊ, मूल्य घटाऊ’, ‘जनतालाई राहत देऊ’ जस्ता नारा लगाउँदै विभिन्न प्लेकार्ड र ब्यानरमार्फत असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले इन्धनमा लगाइएका करहरू घटाएमा मात्रै मूल्य नियन्त्रण सम्भव हुने दाबी गरेका छन्।
विद्यार्थी नेताहरूले सरकारको कर नीतिका कारण पेट्रोलियम पदार्थ महँगिएको आरोप लगाउँदै तत्काल कर संरचना पुनरावलोकन गर्नुपर्ने बताएका छन्। साथै, बढ्दो महँगीका कारण आम नागरिक प्रभावित भएकाले राहत प्याकेज ल्याउन पनि माग गरिएको छ।
पछिल्ला मूल्यवृद्धिले यातायात, उपभोग्य वस्तु र सेवा क्षेत्रमा समेत असर पार्न थालेपछि सरकारमाथि मूल्य नियन्त्रणका लागि दबाब बढ्दै गएको देखिन्छ।










Facebook Comments