
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै सम्पन्न निर्वाचनको समग्र मूल्याङ्कन गर्न देशभर संगठनात्मक सक्रियता बढाउने भएको छ। पार्टीले सातै प्रदेशमा छुट्टाछुट्टै समीक्षा बैठक आयोजना गर्ने तयारी गरेको हो।
केन्द्रीय सचिवालयका अनुसार प्रदेश कार्यसमितिसँगको समन्वयमा वैशाख दोस्रो साताभित्र सबै बैठक सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बैठकको मिति र स्थान निर्धारण गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले निर्वाचन परिणाम, संगठनको अवस्था र आगामी रणनीतिबारे गहन छलफल गर्न समीक्षा प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार समीक्षा बैठकले पार्टीलाई आगामी दिनका लागि स्पष्ट दिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रदेशस्तरमा आयोजना हुने बैठकहरूमा प्रदेश कार्यसमितिका पदाधिकारीसँगै जिल्ला र क्षेत्रीय तहका नेतृत्वको उपस्थिति रहनेछ। साथै, प्रतिनिधिसभा निर्वाचनमा सहभागी उम्मेदवारहरू र जिल्ला निर्वाचन समितिका संयोजकहरूलाई समेत सहभागी गराइनेछ।
यी सबै बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित केन्द्रीय पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ। पार्टीले समीक्षा बैठकमार्फत संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशा तय गर्ने लक्ष्य लिएको छ।










Facebook Comments