
नेपाली कांग्रेसले पार्टीभित्र देखिएको असन्तुष्टि समाधानका लागि सभापति गगन थापालाई वार्ता गर्ने जिम्मेवारी दिएको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्व पदाधिकारीसहित असन्तुष्ट नेताहरूसँग संवाद अघि बढाउने जिम्मा थापालाई सुम्पिएको हो।
प्रवक्ता देवराज चालिसेका अनुसार सभापतिले असन्तुष्ट पक्षसँग छलफल गरी समयमै महाधिवेशन सम्पन्न गर्ने वातावरण तयार पार्नेछन्। उनले पुराना पदाधिकारी तथा प्रभावशाली नेताहरूसँग संवाद गरेर अभिभावकीय भूमिका निर्वाह गर्ने जिम्मेवारी पनि सभापतिमाथि नै रहेको बताए। बाँकी विषयहरू आगामी बैठकबाट टुंग्याइने जनाइएको छ।
विशेष महाधिवेशनबाट स्थापित थापा नेतृत्व र पार्टीका अन्य धारहरूबीच मतभेद बढ्दै गएको छ। विशेषतः शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षसँगको दूरी पछिल्लो समय झनै बढेको देखिन्छ।
इतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि संस्थापन पक्ष असन्तुष्ट बनेको छ। यसैक्रममा केन्द्रीय अनुशासन समितिले पार्टीको लेटरहेड दुरुपयोग गरेको आरोपमा पूर्वउपसभापति पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय समेत गरेको छ।










Facebook Comments