
काठमाडौं । चालु आर्थिक वर्षका पहिलो नौ महिनामा नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्र्याउने प्रतिबद्धता आएको छ।
उद्योग विभागका तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता दर्ता भएको हो। यो रकम ६१५ वटा परियोजनामा लगानी गर्ने उद्देश्यसहित आएको जनाइएको छ।
परियोजनाको प्रकृति हेर्दा साना उद्योगतर्फ लगानीकर्ताको आकर्षण बढी देखिएको छ। दर्ता भएका उद्योगमध्ये ५९९ वटा साना, ८ वटा मझौला र ८ वटा ठूला परियोजना रहेका छन्।
क्षेत्रगत रूपमा कृषिमा सबैभन्दा ठूलो हिस्सा परेको छ। १६ वटा कृषिमूलक परियोजनामा मात्रै २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
पर्यटन क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ भने उत्पादनमूलक क्षेत्रका ३८ परियोजनामा २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ प्रतिबद्धता आएको छ।
यसैगरी सेवामूलक क्षेत्रका ४७ परियोजनामा ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, सूचना प्रविधिका ३४६ परियोजनामा १ अर्ब ४५ करोड ७२ लाख ३६ हजार रुपैयाँ लगानी आउने जनाइएको छ।
ऊर्जा क्षेत्रमा दुई परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ र खनिज क्षेत्रमा ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।











Facebook Comments