
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अवैध भन्दै आफूलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद भएको बताएका छन्।
उनले आफूले जारी गर्ने विज्ञप्ति र हस्ताक्षर नै आधिकारिक हुने दाबी गरे। अनुशासन समितिले सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएपछि खड्काले यस्तो प्रतिक्रिया दिएका हुन्।
समितिले खड्काले आफू जिम्मेवारीमा रहेको दाबी गर्दै नक्कली लेटरप्याड प्रयोग गरी वक्तव्य जारी गरेको आरोप लगाएको छ। तर खड्काले भने विशेष महाधिवेशन र त्यसलाई वैधता दिने निर्वाचन आयोगको निर्णय स्वीकार्य नभएको स्पष्ट पारेका छन्।
उनका अनुसार पार्टीको आधिकारिक नेतृत्व आफूहरूसँगै रहेको छ र यसबारे सर्वोच्च अदालतमा मुद्दा दायर भइसकेको छ। उनले निर्वाचन आयोगका निर्णयलाई नै गैरकानुनी र असंवैधानिक भन्दै ती आधारमै अदालतमा चुनौती दिइएको बताए।
खड्काले अवैधानिक संरचनासँग सम्बन्धित विषयमा आफूसँग स्पष्टीकरण माग्नु अर्थहीन भएको उल्लेख गर्दै कार्यवाहक सभापतिको हैसियतमा आफूले जारी गरेका सबै वक्तव्य वैध र आधिकारिक रहेको दाबी गरे।
उनले सर्वोच्च अदालतबाट न्यायोचित निर्णय आउने विश्वास व्यक्त गर्दै अन्तिम फैसला आएपछि सोही आधारमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने धारणा राखे।










Facebook Comments