काठमाडौं – नेपालले आफ्नो भूभाग चीनविरुद्ध प्रयोग हुन नदिने र ‘एक चीन नीति’मा प्रतिवद्ध रहने स्पष्ट सन्देश दिएको छ। गृहमन्त्री सुदन गुरुङ र चीनका राजदूत झाङ माओमिङबीच सोमवार गृह मन्त्रालयमा भएको भेटवार्तापछि यो धारणा सार्वजनिक भएको हो।

भेटमा गृहमन्त्री गुरुङले नेपालले कुनै पनि देशविरुद्ध गतिविधि सञ्चालन गर्न आफ्नो भूभाग प्रयोग हुन नदिने बताए। साथै, नेपाल आफ्नो सार्वभौमिकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा प्राथमिकता बनाएको पनि स्पष्ट पारेको उल्लेख गरिएको छ।

ad

चिनियाँ राजदूत माओमिङले सामाजिक सञ्जाल एक्समा नेपाल ‘एक चीन नीति’मा प्रतिवद्ध रहेको दोहोर्याएका छन्। भेटवार्तामा नेपाल–चीन सहकार्यअन्तर्गतका विकास परियोजनाहरूलाई तीव्रता दिने र विशेष गरी नेपाल–चीन रेल परियोजना अगाडि बढाउने विषयमा छलफल भएको थियो।

नेपालले तातोपानी नाका हुँदै भइरहेको व्यापार अवरुद्ध भएको विषयमा चिन्ता व्यक्त गरे पनि चिनियाँ पक्षले सीमामा कुनै समस्या नभएको दाबी गरेको छ। दुवै पक्षले सीमा क्षेत्रमा अपराध नियन्त्रण र सुरक्षा सहकार्य मजबुत बनाउने र नेपाली सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्ने सहमति जनाएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सन्तुलित विदेश नीति अपनाउने संकेत दिएको छ। नयाँ सरकारले भारत र चीनसँग समान र सन्तुलित सम्बन्ध कायम राख्ने लक्ष्य राखेको छ। प्रधानमन्त्री शाह निकट भविष्यमा भारत भ्रमणमा जाने तयारीमा रहेको जनाइएको छ।

नेपालको भूभाग प्रयोग विरुद्ध स्पष्ट प्रतिबद्धता र ‘एक चीन नीति’मा अडिग रहनु नेपालको स्वतन्त्र र सन्तुलित कूटनीतिक दृष्टिकोणको पुष्टि हो।