
पोखरा । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको स्तरोन्नतिका लागि भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै सडकलाई गोरखातर्फ नयाँ ट्र्याकमा लैजान निर्णय गरिएको छ।
सडक स्तरोन्नति योजना अनुसार तनहुँतर्फ ४ लेन र गोरखातर्फ २ लेनको नयाँ ट्र्याक निर्माण गरिनेछ। गोरखाको शहीद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका र आँबुखैरेनी गाउँपालिका क्षेत्रका १ सय ९९ घरधुरीका २५५ परिवार प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ।
आयोजनाले स्थानीय बासिन्दालाई उचित मुआब्जा उपलब्ध गराउने र सार्वजनिक संरचनाको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीयले आफ्नो संस्कृति, पर्व र रीतिरिवाजमा असर नपर्ने गरी सडक निर्माण अघि बढाउन तथा त्रिवेणी मन्दिरको सौन्दर्यीकरणमा सहयोग गर्न आग्रह गरेका छन्।
यस योजना एसियाली विकास बैंकको ऋण सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमार्फत कार्यान्वयन हुँदैछ। निर्माण प्रक्रियामा प्रभावित क्षेत्रका नागरिकसँग परामर्श गरिएको छ।
सडकको आँबुखैरेनीदेखि पोखरासम्मको काम अन्तिम चरणमा पुगेको छ। सहरी क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण भइरहेको छ। मादी र सेती नदीमा आकर्षक सिग्नेचर पुल निर्माण भइरहेको छ भने अन्य खोला र खोल्साहरूमा पुल निर्माण लगभग सकिने अवस्थामा छ।
वडाध्यक्ष दीपक पाण्डेले जग्गा प्राप्ति र निर्माण प्रक्रियामा थप गति आउने बताए भने पालिका अध्यक्ष रमेशबाबु थापाले विकास अघि बढाउन सबै सर्त पूरा गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।










Facebook Comments