
काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य र वित्तीय अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति ध्यानाकर्षण जनाउँदै हाल ठूलो घाटा सहेर पनि आपूर्ति सहज बनाइएको जनाएको छ।
सोमबार जारी विज्ञप्तिमा निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च हुँदा पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरिरहेको उल्लेख गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट चैत १७ मा प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिद लागत उल्लेख्य रूपमा बढेको निगमको भनाइ छ।
निगमका अनुसार लागत मूल्यभन्दा कम दरमा इन्धन बिक्री गर्दा सबैजसो पेट्रोलियम पदार्थमा घाटा भइरहेको छ। विशेषगरी एलपी ग्यास र डिजेलमा सबैभन्दा बढी नोक्सानी देखिएको छ। एक सिलिन्डर ग्यासमा ३ सय ३१ रुपैयाँभन्दा बढी र डिजेलमा प्रतिलिटर करिब ८८ रुपैयाँ घाटा भइरहेको जनाइएको छ।
त्यसैगरी पेट्रोलमा प्रतिलिटर करिब २ रुपैयाँ, मट्टितेलमा ३६ रुपैयाँभन्दा बढी तथा आन्तरिक हवाई इन्धनमा पनि घाटा रहेको निगमले जनाएको छ। आईओसीबाट खरिद गर्दा पेट्रोलको लागत मूल्य प्रतिलिटर २ सय २१ रुपैयाँभन्दा बढी पर्ने भए पनि आन्तरिक बजारमा कम मूल्यमा बिक्री भइरहेको छ।
एलपी ग्यासको हकमा प्रति सिलिन्डर लागत करिब २ हजार ३ सय ४० रुपैयाँभन्दा बढी हुँदा उपभोक्तालाई भने करिब २ हजार १० रुपैयाँमै उपलब्ध गराइँदै आएको छ।
निगमले यस्तो चुनौतीपूर्ण अवस्थाका बाबजुद देशभर इन्धन आपूर्ति सहज बनाइराखिएको दाबी गर्दै उपभोक्तालाई अफवाहमा नलाग्न आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा सोहीअनुसार आन्तरिक बजारमा पनि समायोजन गरिने प्रतिबद्धता जनाएको छ।










Facebook Comments