काठमाडौं । सभामुख डोलप्रसाद अर्याल ले निर्माणाधीन संघीय संसद् भवनको काम तोकिएको समयमै सक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।

सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग सोमबार भएको छलफलमा उनले ढिलाइ दोहोरिन नदिई काम तीव्र पार्न आग्रह गरे। उनले निर्माणको प्रगति सन्तोषजनक भए पनि निर्धारित समयसीमा भित्रै सम्पन्न गर्नु अत्यावश्यक रहेको बताए।

ad

छलफलमा नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाकी उपसभामुख रूबीकुमारी ठाकुर र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारी को समेत उपस्थिति रहेको थियो।

संसद् भवन निर्माणका लागि विसं २०७६ असोज १८ गते तुन्डी शेख जेभीसँग करिब ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता गरिएको थियो। प्रारम्भिक योजना अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले समयसीमा पटक–पटक थपिँदै आएको छ। हालसम्म छ पटक म्याद थप भइसकेको छ भने पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेसम्म काम सक्नुपर्नेछ।

सहरी विकास मन्त्रालयका अनुसार हालसम्म करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। भवनको आन्तरिक सजावटका लागि केसी श्यामसुन्दर बानियाँ जेभीसँग करिब २ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का दिइएको छ भने छाना निर्माणको जिम्मा चेनलिङ्क इञ्जिनियरिङलाई दिइएको छ।

सरकारले निर्धारित समयभित्रै संसद् भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि विगतका ढिलाइले अबको प्रगति कत्तिको प्रभावकारी हुन्छ भन्ने चासो बढेको छ।