
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा बुधबारका लागि तोकिएको छ।
पतञ्जली योगपीठ तथा आयुर्वेदसँग सम्बन्धित जग्गा अनियमितता प्रकरणमा उनीमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अनुसन्धान पूरा गरी २०८२ जेठ २२ गते विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।
अख्तियारका अनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न नपाउने कानुनी व्यवस्थालाई बेवास्ता गर्दै पतञ्जलीसँग सम्बन्धित संस्थालाई छुट दिने प्रक्रिया शंकास्पद देखिएको छ। मन्त्रिपरिषद् तथा विधेयक समितिको २०६६ माघ १८ गतेको निर्णय कार्यान्वयनका लागि मालपोत कार्यालय, काभ्रेपलाञ्चोकमा पछि मात्र पत्राचार भएको भए पनि त्यसअघि नै निर्णय प्रभावकारी बनाउने प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।
अनुसन्धानले तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशनमा सम्बन्धित मन्त्रालयमार्फत हदभन्दा बढी जग्गा जफत हुनुपर्ने अवस्था हुँदाहुँदै त्यसलाई बिक्री तथा सट्टापट्टा गर्न मिल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको देखाएको छ। सो प्रस्तावलाई २०६६ चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको अख्तियारको भनाइ छ।
त्यसैगरी, निर्णय कार्यान्वयनका लागि तत्कालीन मुख्यसचिवमार्फत पत्राचार गरिएको र मन्त्रिपरिषद्को निर्णयअघि नै उक्त जग्गा धितो राखेर बैंकबाट कर्जा लिइएको तथ्य पनि अनुसन्धानमा खुलेको जनाइएको छ।
उक्त मुद्दामा अब विशेष अदालतमा हुने सुनुवाइले थप कानुनी प्रक्रिया अघि बढाउनेछ।










Facebook Comments